राधाकृष्ण बने पुष्प र श्रद्धा

फिल्म । श्रीकृष्ण जन्मअष्टमीको दिन पारेर शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण लीला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरहरुमा फिल्मका शिर्ष कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई ‘कृष्ण र राधा’ को स्वरूपमा प्रस्तुत गरिएको छ । फिल्मको थिम अनुसार नै कृष्ण र राधाको पोस्टर सार्वजनिक गरिएको लेखक लक्ष्मण सुवेदीले बताए । ‘नयाँ पोस्टरमा हामीले फिल्मको प्रेमिल भाव प्रस्तुत गरेका छौँ । जहाँ शिर्ष क्यारेक्टरहरु राधाकृष्ण बनेका छन् । फिल्म पूर्ण मनोरन्जनात्मक छ’ लेखक सुवेदीले भने ।

फिल्मको सार्वजनिक पोस्टरलाई आइडियल डिजाइनले तयार गरेको हो । यस्तै यसलाई फोटो पत्रकार कुवेर डंगोलले खिचेका हुन् । ‘ए मेरो हजुर’ र ‘कुनै दिन’ बोलका दुई गीतले फिल्मको राम्रो हाइप चुल्याएको छ । यसको फाइदा फिल्मको व्यापारमा पर्ने अपेक्षा निर्माण पक्षको छ । अटिजम पीडित युवकको प्रेम जीवनमा आउने उतार-चढावमा केन्द्रित रहेको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको छ ।

यस फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । दीपक वलीले निर्देशन गरेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्