यसकारण बन्यो ‘जारी २: सङ अफ च्याब्रुङ’

फिल्म । कवि तथा कथाकार उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको तेस्रो फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ आगामी कात्तिक २१ गतेदेखि प्रदर्शन हुँदैछ । ‘कबड्डी’ शृङ्खलामार्फत कथा र पटकथा लेखनबाट आफ्नो यात्रा सुरु गरेका निर्देशक सुब्बाले पहिलो निर्देशकीय फिल्म ‘जारी’ व्यावसायिक रूपमा सफल भएपछि उनले सिक्वेल नबाउने घोषणा गरेका थिए । तर, उनले तेस्रो फिल्मको रुपमा सिक्वेल ल्याएका छन् ।

‘जारी २: सङ अफ च्याब्रुङ’ फिल्ममा उनले ‘जारी’को शृङ्खलालाई निरन्तरता दिँदै च्याब्रुङको कथालाई जोडेका छन् । ‘मैले ‘जारी’लाई शृङ्खला बनाउने सोच राखेको थिइनँ, तर च्याब्रुङको कथाले मलाई पुनर्विचार गर्न बाध्य बनायो । साथीहरूको सल्लाहले पनि दोस्रो भाग बनाउन प्रेरित गर्‍यो’, उनले भने ।

‘जारी २: सङ अफ च्याब्रुङ’मा समय बदलिए पनि लिम्बू समाज र संस्कृतिको मूल भाव उस्तै छ । कथामा पहिलो भागका पात्रहरू छन्, तर सात वर्षको समयान्तर देखाइएको छ । ‘जारी २’ मा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्