फिल्म । केही समयअघि मात्र मन्त्रीपरिषद्को निर्णयबाट रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षमा अभिनेता भुवन केसीको मनोनयन भएको थियो । उनलाई मन्त्रीपरिषद्कोले मनोनय गरेपछि मातहतको मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियुक्ति दिएको थियो । अभिनेता केसीलाई नेपाली फिल्मको सर्वोच्च निकायमा नियुक्ति दिएको भन्दै केहि विरोध समेत भएका थिए ।
अभिनेता केसीको मनोनय तथा नियुक्ति प्रक्रिया नियमसंगत नभएको भन्दै निर्माता तथा निर्देशक नरेश कुमार पौड्याल समेतको समुहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । विहिबार दिउँसो ३ बजे दर्ता गरिएको रिट निवेदनमा वादीतर्फ नरेश कुमार पौड्याल समेत भनिएको छ भने प्रतिवादी तर्फ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौं , चलचित्र विकास बोर्ड चावहिल काठमाडौं / भुवन के.सी. रहेका छन् ।
रिट दर्ता भएसँगै पहिलो पेशी तारेख आउँदो सोमबार ३० गतेलाई दिइएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्टी , उमेर विवादास्पद र भुवनको एक मुद्दा अदालतमै विचाराधीन रहेको अवस्थामा नियुक्ति दिएको भन्दै रिट निवेदन दर्ता गरिएको बुझिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।
सञ्चार मन्त्रालय अन्तर्गत रहेको अन्य नेपाल टेलिकम , नेपाल टेलिभिजन , रेडियो नेपाल , गोरखापत्र लगायतका संस्थामा न्युनतम योग्यता स्नातक तह राखिएता पनि चलचित्र विकास बोर्डमा केसीलाई नियुक्ति दिनकै लागि प्रविणता प्रमाण पत्र तह मात्र राखिएको भन्दै असन्तुष्टी देखाइएको छ । निवेदकले भुवन केसीको शैक्षिक योग्यतालाई लिएर समेत आशंका गरेका छन् । यस्तै केसीको मुद्दाको उमेरलाई लिएर समेत निवेदकहरुले शंका गरिरहेका छन् ।











