‘महापुरूष’ सँग सहकार्य गर्दै शिवम् सिमेन्ट

देश । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीचमा फिल्म ‘महापुरूष’ का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगायत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाइ गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो फिल्म शत्रु गते, दालभात तरकारीमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रबर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो ।

हस्ताक्षर कार्यक्रममा षड्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्राण्डसँग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबर्द्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गरेका थिए ।

हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तय गरेको छ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्