फिल्म । कवि भूपी शेरचनकी पत्नी कान्ति शेरचनले कविताहरुको माध्यमले आफु एक्लोपन महसुस गर्नु नपरेको बताएकी छिन् । ‘मैले यी कविताहरुमै भूपीलाई महसुस गर्ने गरेकी छुँ । उनको कविताबाट प्रभावित भएर फिल्म बन्नु सुन्दर पक्ष हो’ कान्तिले भनिन् । उनले पाँच दशक अगाडी भूपीद्वारा लिखित कवितालाई अहिलेका युवा पुस्ताले पनि रिलेट गर्नु नै दूरदर्शीताको प्रमाण भएको बताइन । ‘यो पुस्ताले पनि भूपीको साहित्यलाई रुचाउँदा मन खुसी हुन्छ । उनको दूरदर्शिताको यो नै प्रमाण हो’ उनले भनिन् ।
भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई प्रस्तुत गरिएको फिल्म ‘चिसो एष्ट्रे’ को प्रिमियर समारोहमा भएको छोटो कार्यक्रममा भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘चिसो एष्ट्रे’ को गत मंगलवार साँझ भएको प्रिमियरमा उपस्थित फिल्मकर्मीले तारिफ गरेका छन् । फिल्म हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सेलिब्रेटीहरुले फिल्मको कथावाचन र दृश्यभाषामा फरक पन देखिएको प्रतिक्रिया दिएका थिए । फिल्म हेरेपछि अभिनेता सन्तोष पन्त,निर्देशक प्रदीप भट्टराई,निर्देशक निश्चल बस्नेत,अभिनेता राजेश हमाल लगायतले आफ्नो स्वादमा पर्ने फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए ।
प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए । कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको फिल्ममा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको प्रतिक्रिया प्राप्त भएको हो । फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुनश्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ ।
कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित फिल्मलाई प्रबिन स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।










