देश । नेपाली कांग्रेसको १४ औँ अधिवेशन गत मङ्सिरमा सम्पन्न भइसकेको छ । यद्दपी बाँकी रहेका केहि जिल्ला अधिवेशनहरु अहिले भइरहेको छ । यसैक्रममा सर्लाहीमा बाँकी रहेको २ वडामा फागुन २० गते वडा अधिवेशन सम्पन्न भएको छ । गत मङ्सिर १२ र १३ गते बालारा नगरपालिकाको वडा नम्बर ८ अचलगढ र वडा नम्बर ९ गडहियामा अधिवेशन गराउन खोज्दा झडप हुँदै गोलि समेत चलेको थियो । यद्दपी पछिल्लो समय जिल्ला अधिवेशनमा उम्मेदवारी दिने तयारीमा रहेका दुइ उम्मेदवारहरु संस्थापन इतरबाट लक्ष्मण राय समूह र संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह समूह बीच आपसी सम्झौता हुँदा शान्तिपुर्ण रुपमा वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा समिति र वडाबाट छानिएर आउने क्षेत्रीय प्रतिनिधिमा दुवै पक्षले भागबण्डा मिलाएर वडा अधिवेशनको विवाद टुंग्याएका हुन् । वडा नं. ८ गहडीयामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति बनेका छन् । सो वडामा संस्थापन पक्षले ९ जना क्षेत्रीय प्रतिनिधि पाएको छ भने संस्थापन इतर पक्षले वडा सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि लिएको छ ।त्यसैगरी वडा नं. ९ अचलगढमा पनि संस्थापन इतर पक्षले नै सभापति लिएको छ । त्यहाँ वडा सभापतिमा प्रमोद चौधरी चुनिएका छन् । संस्थापन इतरले सभापतिसहित ४ जना क्षेत्रीय प्रतिनिधि लिएर १२ जना क्षेत्रीय प्रतिनिधि संस्थापन पक्षलाई दिएको छ ।
गडहीयास्थित इलाका प्रहरी कार्यालयको छेउमै संस्थापन पक्षबाट प्रदेश सरकारका मन्त्री समेत रहेका नेता वीरेन्द्र प्रसाद सिंह र संस्थापन इतर पक्षबाट नेता कौशलकिशोर राय बसेर दुवै वडाको विवाद समाधान गरी भागबण्डा मिलाउँदै वडा अधिवेशन गराएका हुन् । बुधबार साँझ लालबन्दीमा सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीको रोहबरमा संस्थापन र संस्थापन ईतर पक्षबीच भएको छलफलमा २० गते बलराको दुई वटा वडाको मतदान गराउने, २३ गते जिल्ला अधिवेशन गराउने र ३० गते पालिकाहरुको अधिवेशन गराउने सहमती भएकाे थियो । त्यहिँ अनुरूप वडा अधिवेशन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय सभापतिको दाबेदार छन् ।











