फिल्म । कोरोना भाइरसले ठप्प बनेको फिल्म क्षेत्रको गतिविधि विस्तारै बढ्न थालेको छ । कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको विकास हुनु र त्यसको प्रभावकारिता प्रति विश्वास बढ्दै गएपछि विस्तारै चलायमान बन्न लागेको छ , फिल्मी गतिविधि । यसैक्रममा विश्वकै ठूलो मानिने फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु भएको छ ।
लियोस काक्र्स निर्देशित फिल्म ‘एनेट्टे’ प्रिमियरका लागि कान्सको रेडकार्पेटमा स्टारहरु मास्क विनानै प्रस्तुत भएका छन् । यसले दर्शकलाई कोरोना भाइरस अगाडीकै समय र लयमा फर्काउने तयारीको रुपमा संकेत गरेको छ । अभिनेता एडम ड्राइभर र मारियन कोर्टिलार्ड लगायतको उपस्थितिमा ग्ल्यामर पहिरन र फोटोग्राफरहरुको भीडभाडसँगै सुरु भएको कान्सको माहौल यसपटक भिन्न देखियो । हलिउड निर्देशक स्पाइक ली मुख्य निर्णायक रहेको कान्स जुलाई १७ मा विजेता फिल्महरुको सूची सार्वजनिक गर्दै समापन हुनेछ । (एजेन्सी)











