फागुन १ मा ‘कल्ली’

फिल्म । लेकाली इन्टरटेनमेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘कल्ली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टोलीले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी वर्षको फागुन १ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा नायक सौगात मल्ललाई रिसाहा अवतारमा बाघसँग देखाइएको छ ।

उनको हातमा रगतले लतपतिएको भाला छ, जसले फिल्ममा उनको चरित्र आक्रामक रहने सङ्केत गर्छ । अर्को पोस्टरमा सौगातसँगै नायिका बेनिसा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई प्रस्तुत गरिएको छ । यो पोस्टरले फिल्मका मुख्य पात्रहरूको चरित्रलाई उजागर गर्ने प्रयास गरेको छ ।

‘बुलाकी’ जस्तो सामाजिक कथावस्तुको फिल्म निर्देशन गरेर चर्चामा आएका लक्ष्मण सुनारले ‘कल्ली’को कथा तथा निर्देशन सम्हालेका छन् । महेश दवाडीको लेखन रहेको यो फिल्म पनि सामाजिक विषयवस्तुमा केन्द्रित रहेको अनुमान गरिएको छ । फिल्मले मानिसको मनमा लोभ पलाएपछि उसको जीवनमा आउने उतारचढाव र त्यसले निम्त्याउने परिस्थितिको कथा भन्ने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिसा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । साथै, उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल-कलाकारको भूमिकामा छन् ।

आशिष अविरल, सरित राई र केतन क्षेत्रीको सङ्गीत रहेको फिल्ममा एनबी महर्जनको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन र निसाल पौडेलको छायाङ्कन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् भने पोस्टर राकेश दाहालले तयार पारेका हुन् । सार्वजनिक पोस्टरहरूले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित देखिन्छ ।

कमेन्ट गर्नुहोस्