वेल्स नकआउट चरणमा

खेलकुद । लगातार ३० खेलमा अपराजित इटालीसँग युरो २०२० को समूह ‘ए’को अन्तिम खेलमा १-० ले पराजित भए पनि वेल्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । आइतबार रोममा भएको खेलको ३९औं मिनेटमा माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको वेल्स ५६औं मिनेटमा १० जना खेलाडीमा सीमित भएको थियो ।

इटालीका फेडेरिको बर्नार्देस्चीमाथि खराब फाउल गरेका वेल्स डिफेन्डर रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली १० जनामा सीमित भएको थियो । जितसँगै ३० खेलमा अपराजित रहेको इटाली समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । यस्तै एक जित, एक हार र एक बराबरी खेलेको वेल्स ४ अंकसहित उपविजेता बन्दै नकआउटमा पुगेको छ ।

यस्तै , समुह ‘ए’ अन्तर्गतको अर्को खेलमा स्वीट्जरल्यान्ड विजेता बनेको छ । स्वीट्जरल्यान्डले युरो २०२० अन्तर्गत समूह एको अन्तिम खेलमा टर्कीलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ । अजरबैजानको बाकुमा भएको खेलको छैठौं मिनेटमा ह्यारिस सेफेरोभिचले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । टर्कीको रक्षापक्तिमाथि लगाता आक्रमण गरेको स्वीटजरल्यान्डका लागि २६औं मिनेटमा शेर्डन शकिरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमा २-० ले पछिपरेको टर्कीका लागि इर्फान खभेचीले ६२औं मिनेटमा एक गोल फर्काएका थिए । तर, ६८औं मिनेटमा शकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीट्जरल्यान्डका लागि ३-१ को जित सुनिश्चित गरे । जितसँगै स्वीट्जरल्यान्डको नकआउट प्रवेश सम्भावना बढेको छ । यद्यपि, स्वीट्जरल्यान्डले अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ । हारसँगै टर्की अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्