खेलकुद । कोपा अमेरिका अन्तर्गत शुक्रबार विहान भएको खेलमा ब्राजिलले जित हासिल गरेको छ भने कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्दै साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको १२ औं मिनेटमै गाव्रियल जेससको पासमा एलेक्स सान्द्रोले ब्राजिललाई अग्रता दिलाएका थिए । बाँकी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८ औं मिनेटमा नेइमारले बक्स बाहिरबाट आकर्षक गोल गरी अग्रता दोब्बर पारेका थिए । उनलाई फ्रेडले बल उपलब्ध गराएका थिए । ८९ औं मिनेटमा एभर्टन रिबेरोले गोल गरी ३–० को अग्रता दिलाउँदा अप्रत्यक्ष रुपमा नेइमारको संग्लग्नता रह्यो । नेइमारले निकालिदिएको चलाखीपूर्ण पासमार्फत रिचर्डलिसनले गोल असिस्ट गरेका थिए । त्यसको तीन मिनेटपछि उनै रिचर्डलिसनले गोल गरी ४–० को जित निश्चित गरे ।
कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ। अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । (एजेन्सी)







