‘दोख’को ओएसटी सार्वजनिक

फिल्म । लामो समय देखि निर्माणाधीन रहेको फिल्म ‘दोख’ को ओएसटी सार्वजनिक भएको छ । रङ्गकर्मी अभिनेता अनुप बराल निर्देशित फिल्मको अर्थपूर्ण दृश्यसहितको गीत ‘रातैले बुन्छ’ सार्वजनिक गरेको हो ।

श्रवण मुकारुङको शब्द रचनालाई पुष्पसंगमले संगीत गरेको गीतलाई झुमा लिम्बूले आवाज दिएकी हुन् । तर, पूर्वेली भाकाको गीत प्रस्तुत गर्न फिल्मका सम्पादक निमेष श्रेष्ठले छानेका हरेक दृश्यले न्याय गरेका छन् । फिल्मले जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनीको कथा प्रस्तुत गर्छ । कुटपिटको कुरालाई लिएर दुई गाउँबीच द्वन्द्व बढेपछि फुटबल खेलाएर छिनोफानो गर्ने निर्णय हुन्छ । यसैबीचमा गाउँको स्कुलमा नयाँ शिक्षक आइपुग्छ । यो शिक्षकले दुई गाउँको झगडा सुलह गर्न मद्दत गर्छ कि झन् बढाउन ? सिनेमा यसैको वरिपरि रहेर बुनिएको छ ।

राजन कठैतद्वारा लिखित फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर आदि कलाकारको अभिनय रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारीे मुख्य निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले थापा कार्यकारी निर्माता , शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्