दोस्रो हप्तामा ‘श्री’

फिल्म । लकडाउनमा एक व्यक्तिले भोग्ने कथामा निर्माण गरिएको फिल्म ‘श्री’ ले प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा प्रदर्शन गरिएको फिल्मले पहिलो हप्तामा ७ लाख ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठले बताए । उनकै वितरण कम्पनि जिजिएद्वारा उपत्यकामा वितरित फिल्मको व्यापार अवस्था अनुरुप उत्साह जनक रहेको करणले बताए ।

‘अहिले ७ लाखको व्यापार भनेको अवस्थामा सामान्य हुँदाको समयको ७० लाख बराबर हो’ वितरक श्रेष्ठले भने ,’फिल्ममा दर्शक आइरहनु भएको छ , शो क्यान्सिल भएको छैन । यसले राम्रो संकेत गर्छ ।’ उनले कोरोना संक्रमण बढिरहदा पनि हलसम्म आएर फिल्म हेर्ने दर्शकलाई धन्यवाद पनि दिए । यस्तै , विशेष शोमा उपस्थित अभिनेता सन्दीप क्षेत्रीले फिल्म हलमै आउनु फलदायी रहेको बताए ।

उनले फिल्मलाई हलमा रिलिज गर्ने वितरक करणलाई धन्यवाद पनि दिए । ‘फिल्म हलमा हेर्दाको अनुभव बेग्लै हुन्छ । म वितरक ज्युहरुलाई धन्यवाद दिन चाहन्छु’ सन्दीपले भने । यस्तै , विशेष शोमा उपस्थित निर्मात्री सबिता गुरुङ र कलाकार भोलाराज सापकोटाले पनि फिल्मको बारेमा बताउदै दर्शकलाई धन्यवाद दिए ।

एभरेस्ट सूर्य बोहराद्वारा निर्देशित ‘श्री’ को मुख्य भूमिकामा सन्दीप छेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । सविता गुरुङको निर्माण रहेको फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कल्याणकारी कोषमा सहयोग

फिल्म ‘श्री’ युनिटले चलचित्र पत्रकार संघ नेपालले अगाडी सारेको ‘कल्याणकारी कोष’ अभियानलाई सहयोग गरेको छ । फिल्म युनिटको तर्फबाट निर्मात्री सविता , वितरक करण , अभिनेताद्वय सन्दीप र भोलाराजले चलचित्र पत्रकार संघ नेपालको कार्यसमितिलाई नगद २५ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरे । फिल्मले दोस्रो हप्ता प्रवेश गरेको अवसरमा चलचित्र पत्रकारका लागि प्रयोग हुने कल्याणकारी कोष वृद्धिका लागि सहयोग गरेको निर्मात्री गुरुङले बताइन । ‘हामीले केहि सहयोग गर्ने सोच बनाएर हातेमालो गरेका हौँ’ निर्मात्री गुरुङले भनिन् ।

सहयोग ग्रहण गर्दै चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले धन्यवाद दिए । ‘हाम्रो अभियानमा जोडिनु भएकोमा आभारी छौ । यो थपिएको इँटा मार्फत खुट्किलो पार गर्दै अझै माथि पुग्नेमा विश्वस्त छौँ’ बलामीले भने । कल्याणकारी कोषमा यसअघि नै निर्माता तथा प्रदर्शक सुमित मैनालीले ५१ हजार र निर्देशक जनकदीप पराजुलीले २५ हजार ५ सय सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्