फिल्म । नम्रता श्रेष्ठ र विनय श्रेष्ठ अभिनित ‘सानो संसार’ अहिले पनि दर्शकले सम्झिने फिल्मको लिस्टमा पर्छ । यी दुइ कलाकारहरुलाई सामाजिक सञ्जालमा फ्यानहरुले ‘सानो संसार’ बारे प्रश्न सोधिएको पाइन्छ । तर , त्यसपछी अभिनयको यात्रामा आ-आफ्नो बाटो लागेका नम्रता र विनय लामो समयपछि एउटै फिल्ममा देखिमे तयारीमा छन् ।
राजिव गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा नम्रता र विनयले सँगै स्क्रिन सेयर गर्न लागेका हुन् । हाल यो फिल्मको प्रि-प्रडक्सनको काम भइरहेको छ । फिल्मको नाम भने बाहिरिसकेको छैन । विनय र राजिव यतिबेला फिल्मको लोकेसन हेर्न सिक्किम पुगेका छन् । सिक्किम सरकारले विनय र राजिवसँगै प्रडक्सन म्यानेजर तथा कलाकार अरुण रेग्मीलाई स्वागत गरेको जानकारी गराउँदै उनीहरूले फिल्मको ५० प्रतिशत सुटिङ गर्ने प्रस्ताव राखेको जानकारी गराएका छन् ।
सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले तीनै जनालाई स्वागत गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिएकी छिन् । सिक्किमको लोकेसनमा सुटिङ गर्ने विदेशी फिल्मलाई सिक्किम सरकारले अनुदान दिने गरेको छ । यही लोभमा धेरै नेपाली फिल्मकर्मी सिक्किम पुग्ने गरेका छन् । म्युजिक भिडियो निर्देशक राजिव गुरुङको यो डेब्यु फिल्म हो ।











