संगीत । दीप्ता थापाको स्वर रहेको गीत “यो जिन्दगी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीद्वारा विमोचित गीतमा शब्द संजिता देउजा र संगीत शिखर सन्तोषको रहेको छ । १८ वर्षीय दीप्ता आफ्नो बुवा र आमाको प्रेरणाकै कारण सांगीतिक दुनियामा पाइला टेकेकी हुन् । उनकी आमा नृत्याङ्गना हुन् भने बुवा बेलायतमा गीतसंगीतसँगै संस्कृतिक क्षेत्रमा चिनिएको नाम ।
पछिल्लो समय चर्चामा रहेका बिबिसी मास्टर शेफको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो नेपाली शेफ सन्तोष शाहले सार्वजनिक कार्यक्रममा दीप्ताको सांगीतिक भविष्य उज्वल रहेको बताउदै शुभकामना दिए । कार्यक्रममा बेलायती नागरिक तथा कलाप्रेमी डि मेरी जोस, ईनास ग्लोबल अध्यक्ष कमला दहाल, वरिष्ठ गायिका शर्मिला बर्देवा, गायक सपन कुमार राई, डार्टफोर्ड समाज यूकेका अध्यक्ष गजेन कटुवाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भिडियोमा कोरियोग्राफर दिप्ताकै आमा सुनिता गौतम रहेको छ भने मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको छायांकन, सम्पादन र निर्देशन बेलायतमा स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । विदेशी भूमिमा रहेर पनि दिप्ताले प्रस्तुत गरेको उक्त गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत संगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।












