‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक

फिल्म । आगामी जेठ १५ गते प्रदर्शन हुने नेपाली फिल्म ‘महाभोज’को बहुप्रतिक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा यसका कलाकार र पत्रकारहरूको उपस्थिति रहेको थियो।

निश्चल बस्नेत र अस्मिता अधिकारीले गाएको यो गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन छ । भिडियोमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको दृश्यमा विशेष भूमिका निभाएका छन्।

गीतको भिडियो मलिकाको विवाहको माहोलमा आधारित छ, जहाँ पारिवारिक जमघट र गाउँले परिवेशलाई प्रस्तुत गरिएको छ। कार्यक्रममा निर्देशक दिनेश राउतले ‘महाभोज’ले समाजमा रहेको वर्गसंघर्ष र पैसाले ल्याउने दबाबलाई चित्रण गर्ने बताए। कलाकारहरूले छायांकन अनुभव सुनाए भने दयाहाङ र खगेन्द्रले आफूहरू नर्तक नभए पनि गीतमा नाचेको बताए।

क्लर्क वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति ‘महाभोज’ नेपालसहित विश्वका विभिन्न देशमा एकसाथ रिलिज हुने तयारीमा छ। यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। हिमाल कडरिया निर्माता रहेको यो फिल्मको कथा तथा पटकथा सुवेदीले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्