विदेश । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गए राति भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित हात पारेको थियो । शनिबार जित हात पारेसँगै मुम्बईको शीर्ष दुईमा स्थान पक्का भएको छ । मुम्बईले अन्तिम खेलअघि १८ अंक जोडेको छ। यता लगातार चौथो खेलमा पराजित भए पनि दिल्ली पनि शीर्ष दुईको दौडमा छ।
दिल्लीको अन्तिम खेलअघि १४ अंक छ । दिल्ली शनिबार पराजित भएसँगै पञ्जावसँग रनरेटमा पछि पार्दै तेस्रो स्थानमा झरेको छ । शनिबार खराब ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन मात्र जोड्न सक्यो। मुम्बईले १ सय ११ रनको झिनो लक्ष्य १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
मुम्बईको जितमा इशान किसनले नटआउट ७२ रन र सूर्यकुमार यादवले नटआउट १२ रन जोडे। क्वान्टन डी कक २६ रनमा आउट भए । यसैगरी शनिवारनै भएको दोस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । शारजहाँ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो ।
बैंग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट रहे । युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदरावादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो । आइपिएलमा आइतबार चेन्नई र पञ्जाव तथा कोलकता र राजस्थानबीच खेल हुनेछ। (एजेन्सी)











