सर्लाहीमा ७ मध्ये ६ अस्पताल शिलान्यास

देश । देशभरका ३ सय ९ वटा पालिकामा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सरकारले ३ सय ९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार जग्गा प्राप्ति भइसकेका स्थानहरुमा अस्पतालको शिलान्यास गरिएको हो । बाँकी स्थानीइ तहमा मंसिरभित्र शिलान्यास गरिने जनाइएको छ । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘क्रान्ति’ भनेको छ । तर, सोमबार शिलान्यास भएका अधिकांश अस्पताल निर्माणको ठेक्का नै लाग्न बाँकी छ । तर, दुई वर्षभित्र सबै अस्पताल बनिसक्ने सरकारको दाबी छ ।

यस्तै , देशभर झैँ सर्लाहीमा पनि सोमवार एकैसाथ ६ स्थानमा १५ बेड (शैय्या) को आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरिवन, बागमती, बलरा र बरहथवा नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको जानकारी प्राप्त छ । सर्लाहीमा ७ वटा पालिका छनौट भएपनि चक्रघट्टा गाउँपालिकामा भने स्थान विवादले सोमवार अस्पतालको शिलान्यास हुन सकेन् ।

हरिवन नगरपालिकाको सासापुर स्वास्थ्य चौकी परिसरमा मेयर गणेश प्रसाद प्रसाई आफैले अस्पतालको शिलान्यास गरे । हरिवन नगरपालिका ४ का वडाध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त लगायत सहभागी भए । यस्तै बागमती नगरपालिकास्थित कर्मैया बर्थिङ सेन्टर परिसरमा संविधान सभा सदस्य हरि उप्रेतीले अस्पतालको शिलान्यास गरेका छन् । बागमतीको सो कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती, मेयर भरत कुमार थापा लगायत उपस्थिति थिए ।

बरहथवा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा मेयर देवानन्द महतोले अस्पतालको शिलान्यास गरे । कार्यक्रममा नगर उपप्रमुख सीता देवि माझी , प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल , जन स्वास्थ्य अधिकृत डाक्टर सत्य नारायण यादव, वडा अध्यक्ष मोहमद अफताब आलम लगायतको उपस्थिति रहेको थियों । यस्तै, चन्द्रनगर गाउँपालिकाको चन्द्रनगर स्वास्थ्य चौकी परिसरमा प्रदेश सांसद उपेन्द्र महतो, पर्सा गाउँपालिकाको नारायणपुर स्वास्थ्य चौकी परिसरमा पूर्व मन्त्री एवं सर्लाहीको २ नम्वर क्षेत्रका संघीय सांसद महेन्द्र राय यादव र बलरा नगरपालिकाको प्राथमिक स्वस्थ्य केन्द्रको परिसरमा मेयर अभयकुमार सिंहले अस्पतालको शिलान्यास गरेका छन् । सर्लाहीमा बन्ने सबै १५ बेडका अस्पतालका लागि १८ करोडको हाराहारीमा कुल बजेट आउने बताइएको छ ।

तस्विर सौजन्य : महेश बराल
कमेन्ट गर्नुहोस्