फिल्म । रङ्ग पत्रकारितासँगै म्युजिक भिडियो निर्माणमा सक्रिय रहेको रघुनाथ सापकोटाले फिल्म निर्माण गर्ने भएका छन् । कोरोना भाइरसका कारण सिर्जित अवस्थाका कारण ठप्प रहेको फिल्मनगरी विस्तारै चलायमान भईरहदा रघुनाथले फिल्मका लागि नाजिर हुसेनलाई अनुबन्धित गरेका छन् । डेढ दशक अगाडिनै फिल्म निर्माणको अनुभव संगाली सकेका रघुनाथले सोमवार अभिनेता हुसेनसँग कागजी सम्झौता गरेका हुन् । फिल्मको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको उनले जानकारी दिए ।
‘ सामाजिक विषयवस्तुमा आधारित रहेर फिल्म निर्माण हुनेछ’ रघुनाथले जनाए । उनले अवस्था सामान्य तर्फ गएसँगै फिल्मको कास्ट एण्ड क्रिउको बारेमा औपचारिक रुपमा जानकारी दिने बताए । आउँदो फागुनबाट छायांकन सुरु हुने लक्ष्य राखिएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौंलगायतका स्थानमा छायांकन हुनेछ ।










