अस्करमा मागियो फिल्म

फिल्म । ९३औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै आवेदन खुल्ला गरेको छ । अस्करमा प्रतिस्पर्धा गर्न नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालमा रहेको अस्कर कमिटीलाई फिल्म बुझाउनु पर्ने छ ।

कोरोना भाइरसको कारण सिर्जित अवस्थाको कारण हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने दुई महिना पछाडि अप्रिल २५ का दिन लस एञ्जल्सको डल्बी थिएटरमा हुदैछ । यसपटक अवस्था अवस्थालाई मध्यनजर गर्दै अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेकोछ । अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम रहेकोमा यसपटक महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले समेत अस्कारमा सहभागिता जनाउन पाउने छन् ।

हलमा प्रदर्शन नभइ सिधै स्ट्रिमिङ साइटमा आएका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्