विदेश । अन्तत लिओनल मेसी बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनाका कीर्तिमानी फरवार्ड मेसीले तत्काल क्लब नछाड्ने निर्णय गरेका छन् । बासिलोना मार्फत नै आफ्नो करिअरलाई शुरु गरेका मेसीले क्लब विरुद्ध मुद्दा लड्ने चाहना नरहेको प्रस्ट्याएका छन् । यस्तै, बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने अवस्था पनि छ ।
यी यस्तै कारणले ३३ वर्षीय मेसीले क्लब नछाड्ने निर्णय गरेका हुन् । ‘क्लब छाड्न मसँग मुद्दा लाड्ने विकल्पहरु नभएका होइनन् । तर , म बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन । किनभने बार्सिलोना मलाई सबैथोक दियो। यहि क्लवमा मैले जीवन बिताए। मैले आफ्नो जीवन पनि यहि बनाए’ मेसीले गोलसँगको कुराकानीमा भनेका छन् ।
मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १६ वर्ष पूरा भइसकेको छ। मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए । यद्दपी गएको साता आफूले क्लबसँगको करिअर टुंग्याउन चाहेको बताएका थिए भने रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए । तर बार्सिलोना मेसीको ७ सय मिलियन युरोको रिलिज क्लज हटाउन तयार नभएपछि मेसीले क्लबमै बस्ने बताएका हुन् । (एजेन्सी)







