विदेश । स्तन क्यान्सरबाट ग्रसित सिन्धुलीको कमलामाई नगरपालिका– १० की दिलमाया दर्लामी मगरको उपचारका लागि पोर्चुगलमा रहेका नेपालीहरु सहयोग गरेका छन् । गोर्खा घर भई पोर्चुगलमा कार्यरत युवा दिनेश भण्डारीको पहलमा सहयोग संकलन गरी पठाएको ४ लाख १५ हजार रुपैया नेपालका लागि पोर्चुगलका वाणिज्यदूत राजेन्द्र कुमार खेतानले क्यान्सरको उपचार गराईरहेकी दर्लामीलाई हस्तान्तरण गरेका छन् ।
लामो समयदेखि स्तन क्यान्सरबाट ग्रसित दर्लामी भक्तपुर स्थित आफन्तको घरमा रहेर उपचार गराईरहेकी छन् । वाणिज्यदूत खेतानले क्यान्सरको उपचार गराईरहेकी दर्लामीलाई घरमै पुगेर सहयोग गरेका हुन् । कमजोर आर्थिक अवस्थाका कारण दर्लामीको उपचारमा कठिनाई भएको जानकारी पाएपछि सहयोग संकलन गरिएको समाजसेवी भण्डारीले बताए । भण्डारीले क्यान्सरबाट ग्रसित दर्लामीको उपचारका लागि स्वस्फूर्त रुपमा सहयोग गर्ने वाणिज्यदूत खेतानसंगै गैरआवासीय मनकारी नेपालीहरुलाई धन्यवाद दिए ।










