विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएर सबै भन्दा बढी प्रभावित बनाएको देश संयुक्त राज्य अमेरिका हो । यहाँ ६५ हजार बढीले ज्यान गुमाई सकेका छन् भने ११ लाख बढी संक्रमित छन् । यसैले गर्दा पनि कोरोना भाइरसले सबै भन्दा बढी प्रभावित बनाएको देशमा अमेरिका पर्छ । यसैबीच अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो ।
यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ । गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले मानिसहरु छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरु अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरु औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ । (एजेन्सी)









