प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्मा ११ जनाभन्दा बढी मन्त्री नराख्ने

देश । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने योजना सार्वजनिक गरेकी छन् । उनले मन्त्रीहरूको संख्या १० देखि ११ जनाभन्दा नबढाउने र राजनीतिक आबद्धता नभएका गैरराजनीतिक व्यक्तिलाई प्राथमिकता दिने बताएकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे स्पष्ट पारिन् ।

‘मन्त्रिपरिषद् करिब १० देखि ११ जनाभन्दा बढी नराख्ने र व्यक्तिको क्षमता हेरेर मन्त्री नियुक्त गरिनेछ’, उनले भनिन् । हाल तीन जना मन्त्री नियुक्त भइसकेका छन्, र बाँकी मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्तिहरू छनोट गरिने उनले जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले राजनीतिक पार्टी वा तिनसँग सम्बद्ध व्यक्तिलाई मन्त्रिपरिषद्मा नराख्ने नीति लिएकी छन् ।

राजनीतिक आबद्धता भएका व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गर्दा चुनावसम्बन्धी काममा ध्यान नपुग्ने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनको योजना छ । यो कदमले मुलुकको प्रशासनिक सुधारमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ । गैरराजनीतिक र क्षमतावान व्यक्तिहरूलाई प्राथमिकता दिँदा सरकारको कार्यक्षमता र निष्पक्षता बढ्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्