अर्को दुखद खबर : रहेनन् ऋषि

फिल्म । बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । उनको बिहीबार निधन भएको भारतीय मिडियाहरुमा खबर छ । केहि समय यता क्यान्सरबाट पिडित उनि अमेरिकामा भन्डै एक वर्ष उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।

ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । ऋषिले ९२ फिल्ममा काम गरेका छन् । जसमध्ये ३६ फिल्म बक्स अफिसमा हिट भए । सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको थियो । ६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । उम्दा कलाकार इरफान खानलाई ५३ वर्षको उमेरमा बलिउडले गुमाएको शोक सकिन नपाउदै ऋषिले पनि संसार छाडे । (एजेन्सी)

कमेन्ट गर्नुहोस्