विदेश । गत डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक प्रमणित भएको कोरोना भाइरस (कोभिड १९) पछिल्लो समय विश्वकै टाउको दुखाइ बनेको छ । विश्वकै अर्थतन्त्रलाई धरापमा पारेको कोरोना भाइरसकै कारण यहि वर्ष जापानमा हुने भनिएको ‘ओलम्पिक’ सरेको छ । यति मात्र हैन विश्वका अधिकांस देश नै ‘लकडाउन’ मा छन् । एक मानिसबाट अर्को मानिसमा यो भाइरस सजिलै सर्ने भएकाले पनि मानिसहरु ‘क्वारेन्टाइन’ मा बस्न बाध्य छन् ।
दोस्रो विश्वयुद्धपछि कोरोना भाइरसको महामारीकै कारण विम्बल्डन प्रतियोगिता पहिलोपटक स्थगित भएको छ । ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन सरेको हो । अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन भने यसअघि नै स्थगित भइसकेको थियो । यस वर्षको विम्बल्डन आगामी जुन २९ देखि जुलाई १२ तारिखसम्म आयोजना हुने कार्यक्रम थियो।
विश्व चर्चित विम्बल्डन टेनिस ग्रास कोर्टमा खेलाइन्छ । कोरोना भाइरसको त्रासका कारण अहिले विश्व खेलकुदका सम्पूर्ण गतिविधि अवरुद्ध बनेका छन् । विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी फैलिएपछि यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुद, युरो कप फुटबल, कोपा—अमेरिका फुटबललगायतका प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन् । (एजेन्सी)









