फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को मारमा विश्व परेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गर्दै रोकथाममा लागिरहेको छ । यसले अन्य क्षेत्र झैँ मनोरंजन क्षेत्रलाई पनि ठप्प नै बनाएको छ । हलिउड , बलिउडसँगै नेपाली फिल्मनगरीमा पनि रिलिज हुने भनिएका फिल्म रोकिएका छन् भने केहि छायाँकन पनि रोकिएको छ ।
नेपाल सरकारले हुन् सक्ने जोखिमलाई कम गर्न सतर्कता बढाउन आग्रह गरिरहेको छ । नेपाली फिल्मसँग जोडिएका संघ संस्थाले पनि फिल्मको छायाँकन रोक्न आग्रह गरिरहेको छ । यसैक्रममा घोषणा गरिएको फिल्म ‘के घर के डेरा’ को छायाँकन पनि सेड्युल गरिए अनुसार नहुने भएको छ । चैत्र दोश्रो साताबाट छायांकनमा जान तयार रहेको फिल्मले परिस्थितिलाई मुल्यांकन गर्दै छायाँकन रोकेको हो ।
‘हामीले नेपाल सरकारको आग्रहसँगै अपनाउनु पर्ने सावधानीको विषयमा जिम्मेवार नागरिकको हैसियतले सोच्दैं यस्तो निर्णय लिएका हौ’ निर्देशक सुव्रतराज आचार्यले बताए । निर्देशककै भनाइमा सहमत हुँदै कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा)ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायांकन स्थगित गरिएको बताए ।
झन्डै साढे तिन दशक अघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’को नाम सापटी लिएर तयार हुने भनिएको फिल्ममा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहनेछ । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा दया र विपिनसँगै वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।
यसमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । ‘हरि’ फिल्म निर्देशन गरेर चर्चामा आएका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो ।
काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले खिच्ने जिम्मेवारी पाएका छन् । यस्तै, मित्र डि. गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । फिल्मलाई रोहित-रत्न (आरआर फिल्म्स) ले वितरण गर्नेछन् ।












