फिल्म । थियटर हुँदै फिल्मको पर्दामा स्थापित भएकी अभिनेत्री मेनुका प्रधान आफ्नो भूमिकाको कारण चर्चामा रहन्छिन् । पात्रलाई जीवन्त बनाउने मेनुकाले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भने पहिलो पटक सहभागिता जनाउदै छिन् । युरोपको चेक रिपब्लिकमा हुने ‘दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभ’ मा सहभागिता जनाउन उनी त्यहाँ पुगेकी छिन् ।
उनी अभीनित ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार वर्ल्ड प्रिमियर हुँदैछ । ‘इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ मेनुकाले भनिन्, ‘मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ । अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’
फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन् । उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन् । हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।
नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा निर्देशक राई पनि सहभागी भएकाछन् । ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । यसको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।











