संगीत । पछिल्लो समय विश्वमै फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको नेपालमा पनि सतर्कता बढाईएको छ । गत बुधबारबाट नेपाल सरकारले आउँदो अप्रिल ३० सम्मलाई कडाइ गर्ने भन्दै केहि योजना अगाडी ल्याएको छ । सकेसम्म भिडभाडमा नजान आग्रह गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न पनि नेपाल सरकारले भनेको छ ।
विदेशबाट आएकालाई पनि सिधै अन्यको सम्पर्कमा नजान आग्रह गरिएको छ । यसैलाई आधार मान्दै गायक दीपक बज्राचार्य र उनको ब्यान्ड सदस्यहरू सेल्फ क्वारेन्टाइनमा बसेका छन् । अष्ट्रेलियाबाट बुधवार नेपाल फर्किएलगत्तै दीपक बज्राचार्यसहित उनका ब्यान्ड सदस्यहरू ललितपुरस्थित एक घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । उनले सामाजिक सञ्जालमा भिडियो राख्दै क्वारेन्टाइनमा बसिरहेको जानकारी गराएका थिए। दीपक र उनका ब्याण्ड सदस्य अष्ट्रेलियाबाट मलेसिया हुँदै नेपाल आएका हुन् । गत फागुन २१ मा दुई महिने सांगीतिक कार्यक्रम लिएर ब्यान्डसहित अस्ट्रेलिया उठेका उनीहरूले पर्थ र एडिलेडमा प्रस्तुति सिध्याएलगत्तै नेपाल फर्किएका थिए ।











