फिल्म । गत साता बलिउडका प्रसिद्ध निर्देशक प्रकाश झा काठमाण्डौमा थिए । उनि तेस्रो निफमा सहभागी हुन् नेपाल आएका थिए । निफ चलुन्जेल नेपालमै रहे निर्देशक झा । गंगाजल , अपहरण , राजनीति जस्ता फिल्म बनाएर नेपालमा समेत उतिकै लोकप्रिय रहेका निर्देशक झाले नेपाल फिल्म एण्ड कल्चर एकेडेमीद्वारा आयोजित निफ अर्थात नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल २०२० ले आफुलाई नेपाल ल्याएर परिचित गराएको बताएका छन् । ‘म फेरी फर्किनेछु र नेपालमा काम पनि गर्नेछु , नेपाली फिल्म क्षेत्रसंग’ निर्देशक झाले भने ।
उनले फिल्मका मेकरहरु मेहनती हुनु पर्नेमा जोड दिए । ‘मेहनत नगर्दा हामीले दर्शक गुमाइरहेका छौ त्यसैले अब कोठामा बसेर कथा सोच्ने बेला छैन । मान्छेको जीवनमा, घटनाहरूमा आफ्नो कनेक्सन, समाजको कनेक्सन खोज्नुस’ झाले भने । उनलाई आफ्नो लोकप्रिय फिल्म मध्य गंगाजल लेख्न ७ वर्ष र राजनीति लेख्न ५ वर्ष लागेको रहेछ । उनले पात्र खोजेर त्यसमा कथा बुन्ने र दर्शकको भाषामा तयार गर्ने गरेको बताए । ‘दर्शकलाई फिल्म बनाउदै हुनुहुन्छ भने उनकै भाषामा बनाउनुस । नत्र तपाइँको फिल्मले दर्शक पाउदैनन्’ झाले भने ।
उनले नेपाली फिल्मको बारेमा समेत जानकारी लिएका थिए । नेपाल आइसकेपछि उनले फिल्मको बारेमा जानकारी लिएका हुन् । त्यसो त नेपालको हालखबर भारतको जुनै पत्रिकामा हुने गरेको समेत उनले सुनाए । उनले नेपालमा बन्ने फिल्म र व्यसायिक हिटको ग्यान लिएका रहेछन । ‘फिल्म राम्रो बन्न थालेको रहेछ , मैले पनि धेरै फिल्म फेस्टिभलमा हेरे’ झाले भने । उनलाई बुलबुल , गोपी जस्ता फिल्मले नेपाली फिल्म बन्नेको स्तर मात्र हैन , नेपालको अवस्थाबाट पनि भेट गराएको रहेछ । उनले आफु नेपालमा भएको भए यस्तै फिल्ममा काम गर्ने खुलासा समेत गरे । ‘म नेपालमा फिल्म बनाउँथेँ भने राजतन्त्र फालेर गणतन्त्र आएपछि मानिसको सामाजिक सम्बन्धमा आएको परिवर्तन मेरो विषय हुन सक्थ्यो। भूकम्पपछिको मानिसको जीवनमा आएको परिवर्तन पनि कम रोचक छजस्तो लाग्दैन । घर टुटेको र सम्पदा टुटेको त बन्यो तर मन टुटेको कसले देख्ने ? यस्ता विषय र प्रभावलाई मैले मेरो कथामा समेट थिए होला’ झाले भने ।











