‘चिता भन्दा पर , पुग्ने को नै छ र ….’

फिल्म । आउँदो माघ २४ गतेबाट फिल्म ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आउंदैछ । फिल्ममा टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्यकलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । तिन दिनको कथामा तयार भएको भनिएको फिल्ममा सेल्फी किङ्ग अर्थात विपिन कार्की कार्यक्रममा पुगेर फर्किंदाको कथा हो । कार्यक्रमकै लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने कथानै फिल्ममा प्रस्तुत गरिएको छ । सार्वजनिक अघिल्लो गीत ‘जाली रुमाल’ ले कार्यक्रमको घटनालाई प्रस्ट्याउछ ।

केकी अधिकारी सहित भीमफेदी गाइजले नृत्य गरिरहदा विपिन आफ्नो पालो कुरेर बसेका छन् । तर , उनको पालो आउँदा कार्यक्रम गर्न आनाकानी गरेको सार्वजनिक ट्रेलरमा प्रस्टिन्छ । त्यसपछि टिमले सार्वजनिक गर्यो ,’जिन्दगीको के छ र भर’ । यो गीतले फिल्मको कथालाई बोकेको निर्माण पक्षले बताउदै आएका छन् । यसै फिल्मको मेकरले निर्माण गरेको अघिल्लो फिल्म ‘प्रसाद’ मा ‘लै लै’ जस्तो गीत बनाएर प्रसंसा कमाएका सुभाष भुषालले यस फिल्ममा पनि गीत तयार पारेका हुन् ।

Photo : Binod Pokharel

उनको संगीतमा सुरज गैरेको शब्दलाई प्राण भर्ने काम स्वर मार्फत केतन छेत्रीले गरेका छन् । उनको आवाज विपिनलाई सुहाएको छ । यतिबेला ट्रेण्डिङ रहेको गीतलाई राम्रो प्रतिक्रिया मिलेको छ । भिडियोको कुरा गर्ने हो भने यसमा विपिननै फिचर्ड छन् र उन्मै केन्द्रीत छ । उनि सोलुखुम्बुको कार्यक्रमबाट फर्किंदै गर्दा झेल्ने दु:खलाई यसमा देखाइएको छ । कार्यक्रममा आयोजकसँग रुदै गरेका विपिन कुनै पनि शर्तमा घर फर्किरहेका छन् । उनले यात्रा गर्ने क्रममा जहाँ जे पायो , त्यसमै यात्रा गरेको भिडियोमा देख्न सकिन्छ ।

मन भित्र र बाहिरको दु:खसँग लडिरहेका ‘सेल्फी किङ्ग’ अर्थात विपीनलाई यात्रा सहज छैन । कार्यक्रममा रमाउँदै पुगेका विपिन त्यहाँबाट पिडामा फर्किन्छन् , अनि आकस्मिक यात्रामा आउने समस्या त छदैछ । उनि कार्यक्रमबाट फर्किने यात्रालाई मार्मिक रुपमा निर्देशक सापकोटाले प्रस्तुत गरेका छन् । एउटा कमेडियनले हसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मन भित्रको पिडालाई यसमा देखाइएको छ । गीतसँगै बीच बीचमा आउने दृश्यले दर्शकलाई सहजै भावुक बनाउछ । गीतले प्रमुख पात्रको मनोभाव दर्शाउछ ।

एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण भएको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

कमेन्ट गर्नुहोस्