संगीत । आजभोली गायिका आस्था राउत चर्चामा छिन् । गत बुधवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गरिन् । गायिका राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री पोस्ट गरिन् । उक्त भिडियो हाल सामाजिक सञ्जालमा भाइरल नै भएको छ । १० मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न \ देख्न सकिन्छ ।
उनले आफुलाई ड्युटीमा रहेकी महिला प्रहरी अभद्र व्यवहार गरेको भन्दै आक्रोशमा उक्त भिडियो लाइभ गरेकी थिइन् । तर , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको बिहीबार सिसिटिभी फुटेज सार्वजनिक भयो । सुरक्षा जाँचका क्रममा राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै महानिरीक्षक पोखरेलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्यो, म गायिका हो, चिन्नु भएन?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए ।
घटना गायिका राउत बुधबार अपराह्न त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जानेक्रममा भएको हो । प्रहरीले भिडियो अनुसन्धान गरिरहेको खबर बाहिर आएपछि गायिका राउतले लाइभ आएर यस विषयलाई प्रस्ट्याउने कोसिश समेत गरेकी छिन् । यद्दपी यतिबेला आस्थाको उक्त भिडियो र घटनाक्रमलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भईरहेको छ । सामाजिक सञ्जाल दुई चिरामा बाँडिएको छ । कसैले गायिका राउतको समर्थन गरिरहेका छन् भने कतिले उनले ‘दम्भ’ देखाएको भन्दै विरोध गरिरहेका छन् । स्वयम् गायिका राउतले भने आफूले ती शब्दहरु नबोलेको भए हुने भन्दै सामाजिक सञ्जालमार्फत बारम्बार माफी मागिरहेकी छिन् । यता प्रहरीले उनीमाथि कारवाही गर्ने तयारी गरिरहेको छ । गायिका राउतको विषयमा चर्चा भइरहदा अभिनेता दीपकराज गिरी र गायक राजेश पायल राईले उनलाई सामाजिक सञ्जाल मार्फत सुझाएका छन् ।
राजेशले आस्थालाई भनेः ‘तिमी रुन्ची नबन !’
पछिल्लो समय गायिका आस्था राउतको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । उनको विषयलाइ लिएर निकै बहस समेत भइरहेको छ । यसै क्रममा गायक राजेश पायल राईले आस्था राउतलाई ‘धेरै रन्ची’ नबन्न आग्रह गरेका छन् । गायक राईले विमानस्थलमा जाँच गर्नु प्रहरीको अधिकार रहेको भन्दै माया लिनेले घृणा पनि सहनुपर्ने लेखेका छन् ।सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले सेलिब्रेटीमाथि चेक जाँच स्वभाविक भएको बताए । भारती सुपरस्टार शाहरुख खानलाई विमानस्थलमै कट्टु नै खोल्न लगाएको भन्दै जाँच गर्नु प्रहरीको अधिकार भएको बताएका छन् । तर उनले राउत र प्रहरी दुबै सुध्रनु पर्ने जनाएका छन् ।
दीपकले आस्थालाई भने : ‘बरु , म माँफी मांग्छु !’
पछिल्लो समय गायिका आस्था राउतको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । उनको विषयलाइ लिएर निकै बहस समेत भइरहेको छ । यसै क्रममा अभिनेता दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । शनिवार समाजिक सञ्जाल फेसबुकमा एक खुल्लापत्र लेख्दै दीपकले यस्तो सुझाव दिएका हुन् । उनले आस्थाको तर्फबाट आफुले माँफी माग्ने बताउदै नेतालाई मात्र भीआइपी नमान्ने नेपाली संस्कृतिप्रति भने कटाक्ष गरेका छन् । उनले आफु मापसेमा परेको र त्यसबेला प्रहरीबाट भएको व्यवहारले आफुले सहजै अवस्था बुझ्न सक्ने उल्लेख गरेका छन् । उनले प्रहरीले आफु माथि गरेको व्यवहार डर लाग्दो रहेको समेत उल्लेख गरेका छन् ।












