फिल्म । नेपाली फिल्मको लागि राम्रो डेट मध्यको एक हो बैशाखको दोस्रो साता । चैत्रको अन्तिम साता प्रदर्शनमा आउने फिल्मले राम्रो दर्शक पाउने भएकोले पनि बैशाख दोस्रो साता चल्ने फिल्मको बारेमा दर्शकलाई जानकारी हुने गरेको छ । नोभेम्बर रेन , कबड्डी , हाउ फन्नी , रेशम फिलिली लगायतका फिल्म यसै डेटमा प्रदर्शनमा आएको थियो । तर , पछिल्लो दुइ वर्ष यता भने सो डेटमा हलिउड फिल्म ‘एभेन्जर्स’ को सिरिज आउँदा राम्रो फिल्मले प्रदर्शन गर्ने आट गर्न सकेको छैन । तर , यसपटक भने आश गरिएको फिल्म ‘लप्पन छप्पन २’ आउँदो वर्षको बैशाखको दोस्रो साता अर्थात् १२ गते प्रदर्शनमा आउने भएको छ ।
मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सहित एक्सन प्याक्ड टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक भएको टिजरमा तीन सय मिलियन डलर हत्याउन पात्रहरुले गर्ने चलखेल देखाइएको छ । टिजरमा फिल्मको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ । पुरुषोत्तम प्रधानको छायांकन प्रसंशनीय छ । टिजरमा देखाइएको कथासार अनुसार फिल्म सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको वरिपरि घुमेको छ । फिल्ममा शिवले सौगातको पिताको भूमिका निभाएका छन् । सौगात र अर्पण भिन्न लुक्समा प्रस्तुत छन् ।
प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यसफिल्म मार्फत अभिनेता शिवका जेठा छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् । फिल्ममा उनी प्रहरी अफिसरको भूमिकामा छन् । यसै फिल्मबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले पनि अभिनयमा डेब्यू गर्ने अवसर पाएका छन् ।
फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले संयुक्त रुपमा तयार गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । फिल्ममा हिमाल केसी र निर्देशक भट्टको एक्सन छ ।
निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादन रहेको फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।












