फिल्म । गत मङ्सिर २१ मा अभिनेत्री ऋचा शर्माले दीपेक्ष विक्रम राणासँग लगनगाँठो कसेकी थिइन् । उनले विवाह परिवार र केहि नजिकका साथीलाई मात्र निम्ता गरेपनि बिहिबार काठमाण्डौमा आफ्नो कर्म क्षेत्रमा रहेका फिल्मकर्मी र मिडियाकर्मीको लागि पार्टीको आयोजना गरिन् । पार्टीमा मिडियासँग कुरा गर्दै ऋचा र दिपेक्षले एक अर्काको कामलाई सम्मान गर्ने बताए । ‘ हामीले यो करिअर बनाउनका लागि लामो समयको मिहिनेत गरेका छौ । म उनको कामलाई सम्मान गर्छु ।
यसमा कुनै पनि रोकतोक छैन’ दीपेक्षले ऋचा फिल्मनगरीमै रहने बताए । उनले आफुले बनाएको करियरमा प्रगति गर्नेबेलामा छाड्न नहुने पनि बताए । ऋचाले यो जुनीका लागि आफू दिपेक्षको भएको बताइन् ।‘यो यात्रा अब सधैका लागि अगाडि बढाउन मैले दिपेक्षको हात समातेको छु । यो जुनी अब म उनकै हुँ’ उनले भनिन् ।
ऋचाले आफूलाई दिपेक्षको घर भित्रिदा छोरीले झैँ माया पाएको सुनाइन् ।‘म उहाँको घर भित्रिदा, उहाँको ममी ड्याडीले मलाई स्वागत गर्दा मात्र मलाई बिहे गरेको महशुश भयो । तर, उहाँहरुले मलाई बुहारी भएको महशुश भने गर्न दिनुभएको छैन’ उनले छोरीको माया पाएको बताइन । ऋचा र दिपेक्षले आफूहरु दुबै जना रमाइलो गर्ने स्वभावको भएको भन्दै काममा भने गम्भिर हुनुपर्ने बताए । २ बर्ष लामो प्रेम सम्बन्धपछि ऋचा र दिपेक्षले बिहे गर्ने निर्णय लिएका थिए ।
तस्वीरहरु : आर्यन बिमली











