अनमोलकै पर्खाइ ?

फिल्म । अहिलेका पपुलर स्टार अनमोल केसी र निर्देशक हेमराज बिसी एकै फिल्मबाट डेब्यु गरेका थिए । अनमोल र हेमराजले त्यसपछि दोस्रो फिल्म ‘जेरी’ मा संगै काम गरे । दसैँ र तिहार सकिएपछि कार्तिक अन्त्य तीर प्रदर्शनमा आएको फिल्मले युवापुस्ताको मन जित्यो । फिल्म सफल रह्यो । त्यसपछि अनमोलले आफ्नै होम प्रोडक्सनको फिल्ममा काम गरे । अनमोलले त ह्याट्रिक गरे तर , हेमराज सम्बोधनमा चुके । उनको फिल्म विषय प्रधान भएता पनि फ्लप रह्यो । त्यसपछि आएको ‘गाजलु’ ले सफलता पायो । यस अर्थमा हेमराजको फिल्मी करियरलाई सफलता दिने श्रेय अनमोललाई जान्छ ।

किनकी अनमोल भन्दा बाहिर हेमराज सफल भएका छैनन् । पछिल्लो फिल्म ‘घामड शेरे’ बाट हेमराज मात्र होइन , फिल्मनगरीनै आशावादी थिए । तर , फिल्म सफल भएन । यसपछि हेमराजलाई अनमोलकै भर छ । यतिबेला ‘गाजलु’ टिमअप हुने चर्चा बढ्दो छ । रोहित अधिकारीको निर्माण तथा हेमराजको निर्देशनमा अनमोलको अभिनय । यो सहकार्यको लागि रोहितले पहल गरिरहेको बुझिएको छ । यद्दपी सहमति भने भएको छैन । यदि यो सहकार्यले पूर्णता पाउछ भने ‘गाजलु’ टिमले नया फिल्म घोषणा गर्नेछ । फिल्म यसवर्ष छायांकनमा जानेछ भने आउँदो वर्षको विदा लक्षित डेटमा रिलिज हुनेछ ।

रोहित र दिनेशको फिल्ममा पनि अनमोल ?

पछिल्लो समय ‘छ माया छपक्कै’ फिल्मको सफलताको खुसियाली साटिरहेका रोहितले निर्देशक दिनेश राउतसंग सहकार्य गर्दैछन् । उनले केहि दिन अगाडी सामाजिक सञ्जाल मार्फत सहकार्य गर्न लगिएको जानकारी दिएका हुन् । लभ स्टोरी जनरमा बन्ने फिल्मको विषयमा रोहित र दिनेशको छलफल धेरै पटक भईसकेको छ । प्रेम कथालाई भाव मर्न नदिई पर्दामा प्रस्तुत गर्ने निर्देशकमा पर्ने दिनेशको फिल्ममा पनि अनमोलनै रहने चर्चा छ । प्रेम कथा रहेकाले अनमोलनै फिट हुने साथै व्यसायिक सुनिश्चितता पनि हुने भएकाले टिमले अप्रोच गर्ने बुझिएको छ । रोहितले अनमोलसंग कुरा अगाडी बढाउने शर्तमा दिनेशलाई मौखिक अनुबन्ध गरेको समेत बुझिएको छ । अनमोलको धुपौरे केहि समयपछि सरेपछि आउँदो फागुनमा फिल्म फ्लोरमा लग्ने तयारीमा टिम रहेको बुझिएको छ । यद्दपी अनमोलले हेमराज र दिनेशको दुइ प्रोजेक्टमा पहिलो प्राथमिकतामा कसलाई पार्छन ? त्यो भने हेर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्