फिल्म साउथ एसियामा ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै

फिल्म । मंगलबार पाटनको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा आयोजकले दक्षिण एसियाका फिल्ममेकरहरु जमघट हुने सो महोत्सवबारे जानकारी गराएको हो । फिल्म साउथ एसियामा डकुमेन्ट्री महोत्सवको १२ औं संस्करण आगामी कात्तिक २८ देखि सुरु हुँदैछ । सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सव यलमाया केन्द्रमा चार दिन चल्नेछ । ‘ह्वेयर द माइन्ड इज फ्रि’ नारासहित सुरु हुने महोत्सवमा दुई वर्षयता बनेका दक्षिण एसियाका सम–सामयिक विषयहरूमा केन्द्रित रहेका तीन सय डकुमेन्ट्रीमध्ये छनिएका ६३ डकुमेन्ट्री प्रदर्शन हुँदैछन् । ‘फिल्म साउथ एसिया २०१९’ मा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानस्तान र म्यानमारलगायतका देशबाट २५ सयभन्दा बढी डकुमेन्ट्री प्राप्त भएको जानकारी आयोजकले दिएको छ ।

महोत्सवमा प्रदर्शन हुने डकुमेन्ट्रीहरुले पाँच वटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्दैछन् । उत्कृष्टले दुई हजार अमेरिकी डलरसहितको रामबहादुर ट्रफी प्राप्त गर्नेछ । रनरअप डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट डेब्यु निर्देशकको डकुमेन्ट्रीले एक हजार अमेरिकी डलरको तारेक मसुद पुरस्कार, बालबालिकाको विषय केन्द्रित उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेका मध्येको उत्कृष्ट डकुमेन्ट्रीले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवका लागि छानिएको ६३ डकुमेन्ट्रीमध्ये मुख्य छनोटमा ५१ र विद्यार्थी फिल्मअन्तर्गत १२ वटा फिल्म प्रदर्शन हुनेछन्। महोत्सवको आयोजना हिमाल साउथ एसियाले गर्दैछ ।

पत्रकार कुन्द दीक्षित संयोजकत्वमा श्रीलंकाली निर्देशक सुमाथी शिवामोहन र भारतीय कलाकार आयशा अब्राहम सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट डकुमेन्ट्रीहरू छनोट गर्नेछन् । फिल्म साउन एसियाका प्रमुख कनकमणि दीक्षितले भने .’महोत्सवमा दक्षिण एसियाली देशको सम–सामाजिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दै एक अर्काको विचार आदान प्रदान गर्ने फिल्महरु प्रदर्शन हुनेछन्।’

महोत्सवको उद्धाटन नेपाली लोक सांगीतिक ब्यान्ड नेपत्थका गायक अमृत गुरुङले गर्दैछन्। उद्धाटनलगत्तै पाकिस्तानी फिल्ममेकर जावेद सरिफको लोक संगीतमा आधारित ‘इन्दुज्स ब्लुज्स्’ देखाइनेछ। महोत्सवमा ‘शर्मिला टेगोर’, ‘ट्याप्ड इन कतार’, ‘काबुल, सिटी इन द विन्ड’, ‘बेम्बु स्टोरिज्स्’, ‘आफ्टर सबिन’, ‘अब्बु’, ‘सरोज दत्त एन्ड हिज टाइम्स्’, स्वीमिङ थ्रो द डार्कनेस’ र ‘वि आर विथ डा.केसी’ लगायत फिल्महरु प्रदर्शन हुनेछन्। महोत्सव आगामी मंसिर १ सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्