फिल्म । चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसको जानकारी गराइयो । उक्त कार्यक्रममा नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुने जानकारी दिइयो । ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।
नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको अध्यक्ष मल्लले बताए ।












