फिल्म । स-साना भूमिकामा सिमित रहेका अभिनेता विजय बराललाई पहिलोपटक मुख्य भूमिका दिएर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनयमा अब्बल भएता पनि सहायक भूमिकामा सिमित भएका विजयको कलाकारिताको स्थान नै परिवर्तन गरेका निर्माता पौडेलले यसपटक अर्का अब्बल कलाकार कामेश्वर चौरयासियालाई मुख्य भूमिका दिएका छन् ।
‘रेशम फिलिली’ मार्फत दर्शकको प्रिय बनेसँगै फिल्मकर्मीको खोजीमा परेता पनि कामेश्वरले ‘सफलता’ ह्यान्डल गर्न सकेनन् । फिल्मकर्मीका लागि अप्ठेरो र महङ्गो कलाकारका रुपमा परिचित हुन् थालेपछि उनलाई लेखिएको धेरै भूमिका अर्का कलाकार रवीन्द्र झाले पाएँ । त्यसपछि कलाकारितामा भनिने शब्द ‘कमब्याक’ गर्न नसकेका कामेश्वरका लागि ‘अभिमन्यु : च्याप्टर १’ विजय झैँ परिवर्तन हुने फिल्म बन्न सक्नेछ ।
आफ्नो अभिनय झैँ व्यवहारमा पनि परिपक्वता देखाएमा कामेश्वरले पुनः पर्दामा धेरै स्थान पाउनेछन् । क्राइम-थ्रिलर विधामा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् । प्रेम, अपहरण र फिरौतीको कथालाई समेट्दै तयार भएको ट्रेलरमा घरबारविहीन एक युवकले पैसाको लोभमा प्रेमको नाटक रचेर अपहरण गर्ने र फिरौती माग्ने कथावस्तु प्रस्तुत गरिएको छ।
फिल्ममा कामेश्वरसँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलालगायतका कलाकारको अभिनय छ । सुशान्त गौतमको डेब्यु निर्देशन रहेको फिल्मको लेखन मुकेश खनालले गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा छन् ।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेको फिल्मका सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । उक्त फिल्मको नेपाली संस्करण भदौ २७ गते र हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रिलिज हुनेछ ।











