फिल्म । आज देखि ‘रातो टीका निधारमा’ प्रदर्शनमा ल्याएका निर्देशक तथा निर्माता अशोक शर्माले आउँदो दसैँलाई लक्षित गर्दै ‘अल्लारे २’ प्रदर्शनमा ल्याउने भएका छन् । गएको वर्षको दशैंको फूलपातीमा ‘जय भोले’ र यस वर्षको घटस्थापनाको छेकोमा ‘रातो टिका निधारमा’ ल्याएका उनले २०७७ सालको दशैंमा आफ्नो निर्देशनमा दशक अगाडि निर्माण भएको ब्लकबस्टर फिल्म ‘अल्लारे’ को दोस्रो श्रृंखला दर्शक माँझ ल्याउन लागेका हुन् । उनले अघिल्लो वर्ष झैँ यसवर्ष पनि आफ्नो फिल्म मार्फत नै घोषणा गरेका हुन् ।
फिल्मलाई उनैले निर्देशन गर्नेछन् या उनकी छोरी कृति शर्माले यो भने आउँदो दिनमा नै थाहा हुनेछ । ‘परिवेश त्यहि हुनेछ तर फिल्म बिल्कुकै नयाँ कथामा निर्माण हुनेछ’ अशोकले भने । उनले छोरी कृतिले अभिभारा सम्हाल्न सके मात्र क्याप्टेनशिप दिने पनि प्रस्ट्याए । यद्दपी उनले निर्देशनको जिम्मेवारी उनले छोरी कृति शर्मालाई सुम्पिएको चर्चा छ । कृतिले अमेरिकमा फिल्म मेकिङमा ब्याचलर गरेर नेपाल फर्किएकी हुन् । अहिले उनी अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यू गर्न लागेको फिल्म ‘पानीफोटो’ मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छन् ।
‘रातो टिका निधारमा’ मा पनि उनले पितालाई निर्देशनमा सघाएकी थिइन् । सन् १९९८ मा प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा राजेश हमाल, करिश्मा मानन्धर, नीर शाह, अशोक शर्मा प्रमुख भूमिकामा थिए । संगीतकार शम्भुजित बाँस्कोटाको कथालाई स्वर्गीय शिव रेग्मीले पटकथामा ढालेका थिए । यो फिल्ममा समावेश ‘रातो टिका निधारमा’ गीत अझै पनि दर्शकमाझ लोकप्रिय छ । यही गीतको शिर्षक सापटी लिएर निर्देशक शर्माले ‘रातो टिका निधारमा’ फिल्म निर्माण गरेका हुन् , जसको प्रदर्शन भईरहेको छ ।










