‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई दर्शकको साथ

फिल्म । फूलपाती अर्थात् कात्तिक ४ गते शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । तीन सयबढी स्क्रिनबाट प्रदर्शनमा आएको फिल्मको अधिकाँस सोमा फूलपातीदेखि नै दर्शकको भिडभाड छ । फिल्मले पहिलो दिन नै दुई करोड ४० लाखको ग्रस कलेक्सन गरेको थियो । वितरक मध्येका एक करण श्रेष्ठले पहिलो दिनकै हाराहारीमा फिल्मले व्यापार गरिरहेको जानकारी दिए ।

‘हामीले दसैँको कारण हिसाब निकालेका छैनौँ । हामी छिटै हिसाब सार्वजनिक गरेछौं । यद्यपि दर्शकको भिडभाड उही रफ्तारमा छ’, वितरक श्रेष्ठले भने । फिल्म युनिट हल पुगेर दर्शक प्रतिक्रिया लिईरहेका छन् । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दिपेन्द के खनाल विभिन्न समयमा हल पुग्ने गरेका छन् । आफ्ना प्रिय कलाकारलाई फिल्मको पर्दा बाहिर पाउँदा दर्शक उत्साहित छन् ।

लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दर्शकको उच्च साथ पाएसँगै डर हटेको बताए । उनले भने,’दर्शकबाट सस्पेन्स पाटोलाई निकै मन पराईएको छ, हामी निकै उत्साहित छौं ।’फिल्म निर्माण घोषणा भएसँगै दर्शकमा देखिएको उत्साह हलमा देखिएको छ । आगामी दिनमा दर्शकमा यो उत्साह अझै बढ्नेमा निर्माण टिम विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्