फिल्म । नेपाली फिल्ममा लगातार सफलतामा ह्याट्रिक गर्ने निर्देशक कमै छन् । त्यसमध्य कि एक हुन् दीपाश्री निरौला । उनले डेब्यु फिल्ममार्फत नै व्यसायमा एउटा रेकर्ड बनाइन र त्यसपछिका फिल्म मार्फत आफ्नो रेकर्डलाई आफैले ब्रेक गरिन् । यिनै दीपाले नेपालमा ब्राण्ड भएका फिल्म चल्नु पर्ने र दर्शकलाई निराश बनाउन नहुने प्रतिक्रया दिएकी छिन् । उनले ‘कबड्डी कबड्डी कबड्डी’ हेरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ब्राण्डले दर्शकलाई निराश बनाउन नहुने तर्क अगाडी सारिन् ।
‘ब्राण्ड बनाइसकेका फिल्मले दर्शक निराश भएभने अन्य फिल्मलाई असर गर्छ त्यसैले माया र जिम्मेवारी उत्तिकै हुन्छ’ दीपाले कुराकानीकै क्रममा भनिन् ,’कबड्डी एउटा ब्राण्ड हो र यो पैसा र समयको सदुपयोग हुने फिल्म हो ।’ उनले कबड्डीको तेस्रो सिरिजले दर्शकलाई निराश नबनाउने पनि प्रस्ट्याइन । साथै , उनले एउटा फिल्म चल्दा अर्को निर्मातालाई फाइदा हुने पनि बताइन । ‘एकपछि अर्को राम्रो फिल्म आउँनु पर्छ र चल्नु पर्छ किनकी हामी यस क्षेत्रलाई विस्तार गर्न आएका हौ , झगडा होइन’ दीपाले भनिन् । उनले ‘कबड्डी कबड्डी कबड्डी’ राम्रो चल्दा नेपाली फिल्म क्षेत्रलाई नै फाइदा हुने बताइन ।
‘हामी राम्रो फिल्म एकसाथ आउनु हुदैन भनेर नै असोज २४ मा पुगेका हौ’ उनले भनिन् । दीपाको टिमको फिल्म ‘छ माया छपक्कै’ आउँदो असोज २४ मा प्रदर्शन हुँदैछ । कबड्डीको तेस्रो सिरिजको कुरा गर्ने हो भने यसले दर्शकको राम्रो साथ पाउँदै आक्रामक व्यसायको सुरुवात गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।










