फिल्म । कुनै समय एक्सन स्टारको रुपमा परिचित विराज भट्टको निर्माण र निर्देशनसँगै अभिनय रहेको फिल्म ‘साङ्लो’ को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मलाई वितरक कम्पनी काफिया फिल्मस् र एफडीले छठको अघिल्लो दिन अर्थात् कात्तिक १५ गतेको डेट दिएको छ । अहिलेसम्म कात्तिक १५ मा अन्य कुनै फिल्मले प्रदर्शन मिति घोेषणा गरेका छैनन् । तर, फिल्म प्रदर्शनका लागि छठ उपयुक्त समय भएका कारण यो फिल्मले सोलो रिलिज पाउन भने मुश्किल छ ।
किड्नी तस्करीको कथा बोल्ने बताइएको फिल्ममा विराज स्वयंको प्रमुख भूमिका छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेकी छन् । ‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ मा उनले अभिनय गरेका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।












