फिल्म । कलाकार शिवहरि पौडेलको डेब्यु निर्देशनमा फिल्म ‘लक्का जवान’ निर्माण हुदैछ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल यसको कार्यकारी निर्माता हुन् । कमेडी जनरामा निर्माण हुने यो फिल्ममा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय छ ।
फिल्मको मुख्य भूमिकाको लागि हरिवंश आचार्यलाई प्रस्ताव गरिएको थियो । तर , उनले मह सञ्चारको फिल्म भन्दा बाहिर काम नगर्ने बताएपछी उक्त भूमिका अहिले किरण केसीले निर्वाह गर्ने चर्चा छ । जसलाई घोषणा कार्यक्रममा शिवहरीले पनि स्वीकारे । यो बिषयमा बोल्दै निर्देशक पौडेलले भने–‘हो मैले सुरुवातमा हरिवंश र मदनकृष्ण दाइका लागि नै स्क्रिप्ट लेखेको थिएँ । तर, हरि दाइले नै आफूलाई अन्य ब्यानरबाट पनि अफर आइरहेकाले यो गर्दा अरु पनि गर्नुपर्ने भएकाले समस्या हुने बताएपछि मैले कर गरिनँ ।’ फिल्मलाई यसै वर्षको चैत्र ७ गते दर्शकले हेर्न पाउनेछन् ।












