फिल्म । बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले तयारी गरेको अवार्डसँग चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेर ‘नेपाल फिल्म अवार्ड’ गर्ने भएको छ । पछिल्लो समय नेपालमा हुने अवार्डले दर्शकलाई आकर्षित गर्न सकेका छैनन् ।
त्यसैले पनि यो अवार्डलाई दर्शकसम्म पुर्याउने उदेश्यले आयोजना गर्न लागिएको नेफा टिमले जनाएको छ । २१ जना फिल्म पत्रकारले मिलेर अवार्ड गर्न लागेका हुन् । अवार्डको लगात २ करोड अनुमान गरिएको छ । ५० लाख लगातमा सेट खडा गरिने बलामी इन्टरटेनमेन्टका समिर बलामीले बताए । कार्यक्रममा १० हजार दर्शक उपथिति गराउने तयारी आयोजकको छ ।
पपुलरतर्फ ५ र निर्णायकतर्फ १४ विधा रहने अवार्डमा नेपाली फिल्मप्रति समर्पित एक व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । भने, पपुलरतर्फको अवार्ड दर्शक भोटिङको आधारमा तय गरिनेछ । अवार्डको निर्णायकमा निर्माता/निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक/कलाकार अनुप बराल छन् ।
पपुलर विधातर्फ फिल्म, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका छ । भने, निर्णयकतर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव-निर्देशक, नव-अभिनेता, नव-अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो । हरेक अवार्ड विजेतालाई ट्रफीसँगै ३५ तोलादेखि ५० तोलासम्म चाँदी पनि दिने आयोजकले बताएको छ ।
लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । सम्भवतः पहिलो पटक प्राइभेट कम्पनीले गर्ने अवार्डमा विजेतालाई ट्रफीसँगै चाँदी र सुन प्रदान गर्न लागिएको हो । फिल्मकर्मीलाई कार्यक्रममा आवत-जावतका लागि सवारी साधानको सुविधा पनि उपलब्ध गराउने तयारी आयोजकको छ । पहिलो पटक फरक शैलीमा हुन लागेको यो अवार्ड निष्पक्ष हुनेमा फिल्मकर्मीले आशा व्यक्त गरेका छन् ।












