आर्यन र मिरुनाको ‘च च हुइ’ मङ्सिरमा

फिल्म । अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘च च हुइ’ ले रिलिज डेट तय गरेको छ । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका चकलेटी हिरो आर्यन सिग्देल र ‘लालपूर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी मिरुना मगरले अनस्क्रिन रोमान्स गरेको यो फिल्म मङ्सिर ६ गते प्रदर्शन हुने भएको छ ।

बिहीबार निर्माता अमृत घोले लामा र वितरक कम्पनी एफडीबीच फिल्मलाई प्रदर्शन गर्ने सहमति भएको छ । अहिलेसम्म उक्त मितिमा अरु कुनै फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । फरक धारका फिल्म (त्यान्द्रो, साढे सात, लेटर, अनागत) मा रमाइरहेका साम्तेन भुटियाले यो फिल्मको निर्देशन गरेका हुन् । निर्देशक भुटियाका अनुसार, यो पूर्ण कमर्शियल फिल्म हो ।

उनी भन्छन्, ‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु ।’ यसमा आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । सुशन प्रजापतिले फिल्मको अधिकांश दृश्य खिचेका हुन् । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।

कमेन्ट गर्नुहोस्