मण्डलामा `पगला घोडा´ मञ्चन हुँदै

रङ्गमञ्च । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जानकारी दिएको हो ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार सन् १९७० को दशकमा प्रगतिशील,स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको उनी बत्ताउँछन् । अहिले समाजमा घटेको घटनालाई दर्शक सामु प्रत्यक्ष रुपमा देखाउनलाई ‘पगला घोडा’ एक उत्कृष्ट कथा रहेको उनको भनाई छ ।

नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत मञ्चमा देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् ।

यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

कमेन्ट गर्नुहोस्