फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रातो टिका निधारमा’ घोषणा गरिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मार्फत् झन्डै १२ वर्षपछी निर्माण तथा निर्देशनमा फर्किएका अशोक शर्माले नयाँ फिल्म पनि दशैँमै प्रदर्शनमा ल्याउने भएका छन् । फिल्मको औपचारिक घोषणामा उनले आफ्नो छोरा छोरीलाई उनीहरुकै कर्म अनुरुप फिल्ममा ल्याएको बताए । ‘मेरो ब्यानर स्थापित भएता पनि मैले उनीहरुलाई शिक्षा र प्रशिक्षणपछी मात्र यो क्षेत्रमा ल्याएको हो’ अशोकले भने ‘उनीहरुमा फिल्मी ब्लड त छ तर दर्शकले अपनाउन त केहि खस चाहिन्छन नै ।’ अशोकका छोरा अंकित शर्मा यो फिल्मबाट डेब्यु गर्दैछन् ।
उनले अघिल्लो फिल्म ‘जय भोले’ मा अशोकलाई निर्देशनमा एडीको रुपमा सघाएका थिए । ‘फिल्मी रहन सहन सानैदेखि नै छ त्यसैले पनि पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्नेछु’ अंकितले मिडियालाई सम्बोधन गर्दै भने ‘म ब्यानरको सांखलाई झर्न दिन्न र तपाईहरुलाई निराश बनाउदिन ।’ फिल्ममा अंकितको अपोजिटमा एक्ट्रेस साम्राज्ञी आरएल शाह रहनेछिन् । किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ ।
पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यही जेठ १० गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्म ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि-एरेञ्ज गरिएको छ । फिल्मको छायांकन नै गीतबाट सुरु हुने जानकारी समेत गराइयो । गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् भने यसलाई पहिलेकै संगीतकार शम्भुजित बास्कोटाले तयार पारेका हुन् । यसमा शम्भुजितसँगै कल्याण सिंहको संगीत रहने छ ।
बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।












