फिल्म । चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको अप्रत्याशित निधनपछी उनको परिवारलाई सहयोगार्थ एक समिति नै गठन भईसकेको छ । स्वर्गीय भट्टराईले आफ्नो जीवन फिल्मलाई समर्पित गरेका थिए । यसैले गर्दा यतिबेला उनको परिवारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दो छ । यसैक्रममा आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आमा’ कि निर्मात्री शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छन् ।
केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै अहिले फिल्मकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । निर्मात्री पाण्डेले भट्टराइकी पत्नी नीता भट्टराइलाई नगद १ लाख १ हजार सहयोग गरेकी छिन् । निर्मात्री पाण्डेले आफू पनि एउटी आमा भएकाले आमाको मर्म वुझ्ने बताइन् । ‘एउटी आमालाइ के कस्तो समस्या आउँछ त्यसलाई राम्रोसँग बुझेकी छु त्यसैले यो मेरो तर्फबाट सहयोग एउटी आमालाई’ शर्मिलाले भनिन् । फिल्म युनिटले एक कार्यक्रममा सहयोग हस्तान्तरण गरेको थियो ।
फिल्म ‘आमा’ मा शिर्ष भूमिकामा छिन् मिथिला शर्मा । अर्थात् आमाको भूमिका उनकै हो । फिल्ममा मिथिला आमा र सुरक्षा छोरीको भूमिकामा छिन् । यी दुइकै वरिपरी फिल्मको कथा घुमेको अनुमान सार्वजनिक फस्ट लुक र ट्रेलरले पनि गराएको थियो । फिल्ममा आमाको भूमिका निर्वाह गरेकी मिथिलाले यसलाई आफ्नो करियरकै टर्निङ पोइन्ट भनेकी छन् ।
‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म‘आमा’ लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।