‘लगानी सुरक्षित गरेपछि मात्र लाभांस’ दीपक

फिल्म । गत सोमबार मात्र फिल्म ‘छमाया छपक्कै’ निर्माण घोषणा भयो । फिल्ममा आमा सरस्वती मुभिजको ब्यानरले अर्का निर्माता रोहित अधिकारीसँगको सहकार्यमा बनाउने फिल्मको विषयमा विभिन्न चर्चा हुने गरेको छ । यी दुइको टिमअप र शेयर वाडफाडलाई लिएर विभिन्न चर्चा भइरहेको छ । यसअघि ‘गाजलु’ निर्माण गरेका रोहितले यसपटक दीपक–दीपाको समूहलाई ६० प्रतिशत लाभांश सेयरसहित निर्माण साझेदारी गरेको बताए । यो प्रस्ताव पनि रोहितकै हो । ‘उहाँहरूले बोनस सेयर लिने गरी सहकार्य गर्न राजी हुनुभयो’ रोहित भन्छन् ‘फिल्म निर्माणका लागि अहिलेको आवश्यकता पनि सहकार्य नै हो भन्ने लाग्छ’ निर्माता अधिकारीले भने ।

दीपकराज गिरीले पनि सहकार्यले दुवै पक्षलाई फाइदा रहेको बताए । ‘जबसम्म फिल्मले लगानी सुरक्षित गर्दैन, तबसम्म हाम्रो टिमले एक पैसा पनि लिँदैन’ दीपक भन्छन् ‘जोखिम मोलेरै सहकार्य गर्न तयार भएका हौं ।’ त्यसो त दीपक सहित दीपाश्री निरौला , केदार घिमिरे , जितु नेपाल लगायत रहेको आम सरस्वति मुभिजको ब्यानरमा निर्मित फिल्मले अहिले सम्म मुनाफा कमाउदै आएको छ । त्यसैले यो टिमसंग सहकार्य गर्न नचाहने सायदै होलान् । ‘हामीले फिल्म सुरु गर्दा नै सहकार्यलाई मूलमन्त्र राखेर अगाडी बढेका थियौ’ दीपकले सुरुवाती दिनलाई सम्झिदै भने ‘हामी सिरियलमा रहेका हास्यकलाकार बीच जसरि सहकार्य भएको थियो , त्यसलाई नै अगाडी बढाउदै अन्य ब्यानरसंग पनि सहकार्य गर्दैछौ ।’ फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् भने यसमा निर्देशन सल्लाहकारको रुपमा दीपाश्री निरौला रहेका छन् । फिल्ममा दीपक , जितु , केदारसंगै केकी अधिकारी फाइनल भइसकेका छन् भने केहि कलाकारसंग कुरा हुदैछ । दसैंको छेको पारेर रिलिज गरिने बताइएको ‘छ माया छपक्कै’ जेठ पहिलो सातादेखि छायांकनमा जाने बताइएको छ ।

कमेन्ट गर्नुहोस्