फिल्म । आउँदो जेठ ३ मा प्रदर्शन हुने फिल्म ‘बीर विक्रम २’ को पर्पल प्रिमियर हुने भएको छ । रिलिज डेट नजिकिदै गर्दा निर्देशक तथा निर्माता मिलन चाम्सले प्रिमियर बारे बताएका हुन् । ‘फिल्मको थिमसंग मिल्ने भएकाले पर्पल कार्पेट प्रिमियरको तयारीमा छौ’ उनले भने ‘यो प्रिमियर प्राविधिकहरुको सम्मानको लागि हुनेछ ।’ प्राय आफ्नो प्रचारप्रसारलाई फरक तरिकाले गर्दै आएका चाम्सले फिल्ममा अभिनय गर्ने कलाकारदेखि नेपथ्यमा बसेर काम गर्ने प्राविधिकहरुको सम्मानका लागि पर्पल कार्पेट प्रिमियर आयोजना गर्न लागेको जानकारी दिएका छन् । यसले कलाकार र प्राविधिकबीच आत्मियता बढाउने उनको विश्वास छ ।
प्रेम र मित्रताको कथामा निर्माण भएको यस फिल्ममा अभिनेताद्वय पल शाह र नाजिर हुसेनसँगै अभिनेत्री वर्षा सिवाकोटी लिड रोलमा छन् । फिल्ममा अघिल्लो सिरिज ‘बीर विक्रम’ को नाम र क्यारेक्टरको स्टक्चरलाई मात्र सापटी लिइएको उनले बताउदै आएका छन् । केहि दिन अगाडी मात्र सार्वजनिक फिल्मको ट्रेलरले राम्रो चर्चा बटुलिरहेको छ । फिल्ममा बुद्धि तमाङ्ग, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् भने यसमा बनिश शाहको सम्पादन रहेको छ ।










