पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई प्रदान

देश । नेपाल सरकारले आजदेखि परिचय-पत्र वितरण गरेको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका-४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई प्रदान गरे । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन पनि भण्डारीबाटै थालिएको थियो , त्यसैले सुरुवात उनिबाटै गरियो । सोमबार नै गृहमन्त्री थापाले पनि राष्ट्रिय परिचयपत्र लिए । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ । ‘राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट हुँदैन,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले भने ।

आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ । विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको छ भने प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ । प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्